बिहेको प्रलोभन देखाएर लाखौं ठग्ने अफ्रिकी युवक पक्राउ

काठमाडौं । नेपाली युवतीलाई विभिन्न प्रलोभन देखाएर विहे गर्ने भन्दै ठूलो मात्रामा रकम ठगी गर्ने एक अफ्रिकन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक युवतीले दिएको उजुरीका आधारमा उनलाई ठमेलबाट पक्राउ गरेको हो ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले अफ्रिकी देश रिपब्लिक डी एनोग्लाका सिल्भा एन्टोनिओ डि कोस्टालाई शुक्रबार ठमेलबाट पक्राउ गरेको हो ।इन्टाग्राममा मार्क एरोन नाम गरेका व्यक्तिले केही महिना पहिलादेखि ती नेपाली युवतीसँग इन्टाग्रममा कुराकानी गर्ने गरेका थिए ।

ती युवकले आफू लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको र विहे गर्नेसम्मको प्रलोभन देखाएका थिए । विहे गर्ने पक्कापक्की जस्तै भएपछि उनले युवतीलाई उपहारस्वरुप हिराको औंठी, घडी, सुनको सिक्री र दुई लाख तीस हजार पाउन्ड नगद पठाउने बताएको अनुसन्धानबाट खुलेको छ ।

युवतीलाई विश्वासमा दिलाउन उनले सबै सामानको फोटोसमेत खिचेर इन्टाग्राममा पठाएको पाइएको छ । उनले सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनका लागि भन्दै पटक(पटक गरेर ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ पठाउन लगाए। ती व्यक्तिले भनेजसैगरी युवतीलै ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ पनि पठाइन्।

पैसा पाएपछि उनी फरार भएका थिए । त्यसपछि मात्र आफू ठगिएको ती युवतीलाई पत्तो भयो र उनी प्रहरी गुहार्न पुगिन् । पक्राउ परेका कोस्टालाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। ५ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान सुरु भएको छ। पक्राउ परेका कोस्टा गत फागुन २४ गते नेपाल आएको पाइएको छ।