हेटौँडामा निषेधाज्ञा थपियो

हेटौंडा । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो । हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना सङ्कट व्थवस्थापन केन्द्रको आज बसेको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको बताइएको छ ।

कोरोना भाइरस जनस्तरमा फैलिन थालेपछि जनताको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी गराए । निषेधाज्ञा विगतको तुलनामा कडा पारिने उनको भनाइ छ । निषेधाज्ञाको समयमा बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म पसल खुला रहने छ ।

त्यस अवधिमा हेटौँडाका खाद्यान्न, तरकारी र फलफूलका पसल सञ्चालन हुने बताइएको छ । साथै हेटौंडा उपमहानगरपालिका तथा प्रहरीद्वारा माइकिङ गरी निषेधाज्ञाको पालना गर्न टोल तथा बजारमा सूचनासमेत जारी गरेको पाइएको छ । त्यसैगरी सुरक्षा सतर्कता पनि बढाइएको छ । जिल्ला बाहिरबाट भित्र तथा जिल्ला भित्रबाट बाहिरको आवागमनममा पनि रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।