आज राति १२ बजेदेखि उपत्यकामा लागू हुने निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं– आज राति १२ बजेदेखि लागू हुनेगरी काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरिने भएको छ ।

सूचनामा जनाइएअनुसार निषेधाज्ञाको समयमा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैन ।
अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थयकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश निषेध हुनेछ ।

कोभिड १९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जान पर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि साढे १० बजे र बेलुकी ३ बजेदेखि साढे ५ बजेसम्म आवागमन गर्ने समयबाहेको समयमा सवारी सञ्चालन गर्न पाइनेछैन ।

सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्यरुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधनजस्ता अति आवश्यक सेवा बाहेका सवारी सञ्चालन गर्न पाइनेछैन । जिल्लाभित्र सबै प्रकारका यात्रुवाहक सवारी साधन सञ्चालन हुने छैनन् ।

कुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, भेला हुन, भीडभाड गर्न, जुलुस निकाल्न पाइने छैन ।

परम्परागतरुपमा भइ आएको आन्तरिक नित्यपूजाबाहेका सम्पूर्ण धार्मिक गतिविधि सञ्चालन र जमघट गर्न पाइनेछैन ।

शैक्षिक संस्था बन्द रहनेछन् ।

फूटपाथ ला खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

होटल रेष्टुराँ सबै बन्द रहनेछन् ।

तर बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्न सकिनेछ ।