दक्षिण कोरियामा कोरोना संक्रमण नियन्त्रण बाहिर जान सक्ने चेतावनी

सोल, दक्षिण कोरिया– दक्षिण कोरियामा पछिल्लो दिनहरुमा कोरोना भाइरसको संक्रमण दर तीब्र रुपमा बढ्दा कोभिड–१९ को संक्रमण नियन्त्रण बाहिर जान सक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

कोरियाको मूख्य क्षेत्रहरु सोल, बुसान, इन्छन र ख्याङगीदो प्रान्तमा संक्रमणको दर तीब्र गतिमा फैलिएको हुँदा सरकारले कोरोनाको स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै सम्पूर्ण नागरिकहरुलाई सामाजीक दूरी कायम गरी सुरक्षित रहन अनुरोध गरेको हो ।

गत सोमबार मात्र २ सय ४६ देखि बढेर बुधबार २ सय ८३ दक्षिण कोरियामा संक्रमित पाइएको छ भने कोरिया बाहिरबाट भित्रिने क्रममा १४ जनामा संक्रमण देखिएको छ। दक्षिण कोरियामा बुधबारसम्म जम्मा गरी १६ हजार ३ सय ५५ जना संक्रमित पाइएको छ । त्यस्तै १४ हजार ७८ जना निको भएका छन् भने हालसम्म ३ सय ६ जनाको मृत्यु भएको कोरियाली रोक तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ ।

नेपालीहरुको आकर्षक रोजगारीको गन्तव्यको रुपमा रहेको दक्षिण कोरियामा संक्रमणको त्रास भएपछि नेपाली कामदारहरु पनि त्रसित मानसिकताको साथ काम गरिरहेका छन् । कोरियाबाट छुट्टीमा नेपाल आएका धेरै कामदारको लकडाउनको कारण समयमा फर्कनु नपाएपछि रोजगारी गुमेको छ भने कोरियन भाषा परीक्षा उत्तीर्ण गरि उड्न तयारी अवस्थामा रहेका थुप्रै संख्यामा नेपालीहरु नेपालमै अड्किएका छन् ।