विधिवत् रुपमा गुँला पर्व समापन गरिँदै

काठमाडौँ । नेवार समुदायले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाएको गुँला पर्व आज विधिवत् रुपमा समापन हुदैछ । नेपाल संवत् अनुसार दशौँ महिनालाई गुँला भनिन्छ ।

यो पर्व चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने राज गुरुजु मञ्जुश्रीबज्र बज्राचार्यले जानकारी दिए ।

यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ । “यस पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ, पञ्चशील सबैले सधैँ पालना गर्नुपर्छ भन्ने नियम छ”, उनले भने ।

पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिई केही पनि नलिने, काम मिथ्याचार, झुटो कुरा नगर्ने, लागू पदार्थ एवं मद्यपान नगर्ने पर्छन् । पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ ।

राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने गरिन्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् ।

यस वर्ष भने कोरोनाका कारण स्वयम्भू जाने भक्तजन कमै थिए । काठमाडौँ महानगरपालिका वडा नं। ७ चावहिलका स्थानीय राजेन्द्र डङ्गोल धिमे बाजा, बाँसुरी, पछिमा ९ढोलक जस्तै बाजा० बजाएर मन्दिर घुमी गुँला पर्व मनाइएको सुनाउँछन् ।

चावहिलमा चन्द्रविनायक घुम्न मन्दिर पुनःनिर्माण भइरहेकाले असम्भव भएको भक्तजनको गुनासो छ । झरीले रोग व्याध लगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उनको अनुभव छ । यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ ।

चावहिल क्षेत्रमा घर घरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ । चावहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भएपनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिएकामा यस वर्ष कोरोनाका कारण सम्भव हुन सकेन ।

ठमेलको भगवान् बहालमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका अर्थात् एक लाख श्लोक रहेको प्रज्ञापारमिता ग्रन्थ इच्छुक दर्शनार्थीका लागि देखाइन्छ । गुरुजुबाट यसको पाठसमेत हुन्छ । यो महायान सम्प्रदायका मानिसको ठूलो ग्रन्थ हो ।

यी दुवै स्थललाई हाल संरक्षित गरिएको छ । गुँला पर्वको अन्तिम दिन आज विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ । आजदेखि नै नेवार समुदायले इयँला महिना पनि विशेष रुपमा मनाउँछन् ।