भक्तपुरमा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३५ नियन्त्रणमा

भक्तपुर । प्रहरीले आज भक्तपुरमा निषेधाज्ञा अवज्ञा गर्ने ५ सय ३५ जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले निषेधाज्ञाको पहिलो दिन भक्तपुरमा विनाकाम सडकमा निस्किने ५ सय ३५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिइन्।

काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरमा बुधबार रातीदेखि निषेधाज्ञा जारी गरिएको हो ।  निषेधाज्ञा उल्लंघन गरी विनाकाम सडकमा निस्किएका सर्वसाधारणलाई प्रहरीले सडकमै होल्ड गरेर उभ्याउने गरेको छ ।

त्यसैगरी भक्तपुरमा प्रहरीले १८४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जनाएको छ । सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर त्यसमा सवार व्यक्तिलाई सडकमै होल्ड गराएको थियो ।  कोरोना भाइरसको जोखिम बढेपछि स्थानीय प्रशासनले गएराति १२ बजेबाट लागू हुने गरी भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।