कोरोना अपडेटः विश्वभरी दुई करोड २२ लाख संक्रमित, एकै दिन साढे दुई लाख थपिए

जेनेभा, स्वीजरल्याण्ड– महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएका मानिसको संख्या दुई करोड २२ लाखभन्दा बढी भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारी अनुसार विश्वभरीको कुल सङ्क्रमित संख्या दुई करोड २२ लाख ५६ हजार २२० पुगेको छ ।

ती मध्ये दुई लाख ६३ हजार ६०१ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ ।

सोही अवधिमा अरु छ हजार ५५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै अहिलेसम्म विश्वभरी कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ८२ हजार ४५६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।

भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि सबैजसो देशहरुले लकडाउन समेतका अनेक उपायहरु अपनाए पनि प्रामाणिक औषधिको अभावमा सङ्क्रमित र मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गएको छ । एजेन्सी