झापाका चार पालिकाका १५ वडामा निषेधाज्ञा

झापा | समुदायस्तरमा फैलिन थालेको कोभिड –१९ को सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले झापाको मेचीनगर नगरपालिका, कमल, वुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गरी सर्वसाधारण र यातायातका साधनको आवागमनमा रोक लगाएको छ ।

निषेधाज्ञा लागू भएका क्षेत्रमा बस, सिटी सफारी, ट्रक, कार, जीप, टेम्पो, माइक्रो लगायतका यातायतका साधन गुड्न निषेध गरिएको प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ । सो इलाकामा मानिसहरुको आवतजावतमा समेत रोक लगाइएको छ । मेचीनगर नगरपालिकाको वडा नं। ६, ७ र ८ मा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको सबै वडामा भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जनाइएको छ ।

कमल गाउँपालिकाको वडा नं.३ को फाल्गुनन्द टोल र शान्ति टोलको पूर्वमा केर्खाखोला, पश्चिममा ढ्याङ्ग्री खोला, उत्तरमा राजमार्गको दक्षिण र दक्षिणमा निहारिक स्कुल अगाडिको तेर्सो बाटोसम्म भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू भएको छ ।

गौरीगञ्जको वडा नं। ३, ४, ५ र ६ मा अर्को सूचना नभइञ्जेलसम्मलाई निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा क्षेत्रको पूर्व पश्चिम राजमार्गमा भने यातायातका साधन चलाउन रोकिएको छैन । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानून बमोजिम कार्वाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । झापामा विहीवारसम्ममा कोभिड १९ का ४७५ जना सङ्क्रमित फेला परिसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चौलागाईले बताउनुभयो । दमक र मेचीनगरमा समुदायस्तरमा फैलिएको सङ्क्रमण नियन्त्रणका लागि हाल प्रयास भइरहेको छ ।