सरकारले कोरोना नियन्त्रण र उपचारका लागि १३ अर्ब खर्च गर्‍यो : खतिवडा

काठमाडौं । सकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १३ अर्ब बढी रकम खर्च गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले साउनसम्म सरकारले कोरोना नियन्त्रण र उपचारका लागि १३ अर्ब ३६ करोड ७० लाख खर्च भएको जानकारी दिएका हुन् ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्तसम्म गरी उक्त रकम खर्च भएको उनले बताए । सो खर्चमध्ये संघीय सरकारका तर्फबाट ५ अर्ब ८५ करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ३ करोड र स्थानीय तहहरुबाट ६ अर्ब २ करोड रुपैयाँखर्च भएको छ ।

संघीय सरकारले खर्च गरेको रकममध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयबाट १ करोड, कोरोना कोषबाट १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।

सर्वाधिक खर्च गर्नेमा स्थानीय तह छन्। हालसम्म स्थानीय तहबाट ६ अर्ब २ करोड खर्च भएको छ। खतिवडाले यी सबै खर्च औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार व्यवस्थापन र जनशक्ति परिचालनका लागि भएको जनाए।

प्रदेशहरुले गरेको खर्चमध्ये प्रदेश १ ले २० करोड ७१ लाख, प्रदेश २ ले १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख खर्च गरेको समेत जनाइएको छ । हालसम्म नेपाल सरकारले खोलेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब ७५ करोड रुपैयाँजम्मा भएकोमा यसबाट १ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ ।