भारतमा सङ्क्रमितको संख्या ३० लाख पुग्यो, एकैदिनमा ७० हजार सङ्क्रमित, पूर्वराष्ट्रपति मुखर्जीको अवस्था अझै पनि अचेत

नयाँदिल्ली– भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाको संख्या झण्डै तीस लाख पुगेको छ ।

सरकारी अधिकारीकाअनुसार कुल सङ्क्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो । ती मध्ये ६९ हजार ८७८ जना पछिल्लो २४ घण्टामा थपिएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

कुल सङ्क्रमित मध्ये छ लाख ९७ हजार ३३० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक २२ लाख २२ हजार ५७८ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ९४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि अधिकारीले जनाएका छन् ।

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ५५ हजार ७९४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

तीमध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा मृत्यु भएको छ । महाराष्ट्रमा मात्रै कोरोनाका कारण २१ हजार ६९८ जनाको मृत्यु भएको छ भने एक लाख ६४ हजार ८७९ जना सङ्क्रमित भएका छन् ।

पूर्वराष्ट्रपति मुखर्जीको अवस्था अझै पनि अचेत

अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

हप्ता दिनभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहेका उनको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले स्पष्ट पारेको छ ।

अस्पतालले शनिबार दिएको जानकारीअनुसार ८४ बर्षीय नेता मुखर्जीको अधिकांश संकेत स्थिर रहेको छ ।

उनलाई स्वासप्रश्वासमा समस्या भएपछि उनलाई यही अगस्टको १० तारिखका दिन दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भर्ना गरिएको हो ।

पूर्वराष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ । उनको दिमागमा समेत असर परेकाले उनी अहिलेपनि अचेत अवस्थामै रहेको चिकित्सकले बताएका छन् ।

उनलाई स्वासप्रश्वाससम्वन्धी समस्या देखिएपछि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित पनि भएको देखिएको थियो ।

“श्री प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,” अस्पतालद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

स्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरको सहयोगमा उहाँलाई स्वासप्रश्वास गराइरहेको पनि अस्पतालले जनाएको छ ।

नेता प्रणव मुखर्जीले भारतको १३औँ राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म राष्ट्रको नेतृत्व गरेका थिए ।