कोरोना महामारी अबको दुई वर्षमा अन्त्य हुन्छ : डब्लूएचओ

बीबीसी । विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोसले कोरोना महामारी अबको दुई वर्षमा अन्त्य हुने आशा गरिएको बताएका छन् ।

जेनेभाबाट बोल्दै उनले १९१८ को स्पेनिश फ्लु अन्त्य हुन पनि २ वर्ष लागेको बताएका हुन् । तर अहिले विज्ञान तथा प्रविधिको विकासले गर्दा विश्वले यसबाट अझ छिटो मुक्ति पाउन सक्ने बताइएको छ ।

उनले भनेका छन्, ‘अहिले हामीसँग यसलाई रोक्नका लागि उपयुक्त प्रविधि र आवश्यक ज्ञान अनि जानकारी छ । तर यसमा राष्ट्रिय एकता र विश्वव्यापी सहकारिताको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहनेछ ।’ १९१८ को उक्त स्पेनिस फ्लुले त्यतिबेला ५ करोड मान्छेको ज्यान लिएको थियो । कोरोना भाइरसका कारण भने हालसम्म ८ लाखको मृत्यु भएको छ र २ करोड ३० लाख बढी संक्रमित बिरामी रहेका छन् ।

यता बेलायतको वैज्ञानिक अधिवक्ता समूहका सदस्य प्रोफेसर सर मार्क वाल्पोर्टले भने कोभिड–१९ अब सधैँभरि कुनै न कुनै रुपमा हामीसँगै रहिरहने बताएका छन् । उनले बीबीसीसँग भनेका हुन्, ‘यो फ्लु जस्तै नै छ त्यसैले मानिसहरुले नियमित खोप लगाइरहनुपर्ने हुन सक्छ ।’ त्यस्तै शनिबार भएको बैठकमा डाक्टर टेड्रोसले पीपीई सम्बन्धी हुने सबै किसिमका भ्रष्टाचार र घुसखोरी कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै त्यसलाई हत्या बराबरको अपराधका रुपमा व्याख्या गरेका हुन् ।

उनले भनेका छन्, ‘यदि कुनै स्वास्थ्यकर्मीले पीपीई नलगाइ आफ्नो जीवन जोखिममा पारेर काम गरिरहेको छ भने उनीहरुले सेवा दिइरहेका बिरामी पनि खतरामा पर्नेछन् । त्यसैले यो मानव समुदायविरुद्धकै ठूलो अपराध हुनेछ ।’ हाल दक्षिण अफ्रिकालगायत विभिन्न देशहरुमा स्वास्थ्यका उपकरण सम्बन्धी ठूलो स्तरमा भ्रष्टाचार भइरहेको खबर प्राप्त भइरहेको छ ।

शुक्रबार केन्याको राजधानीमा यसविरुद्ध डाक्टरहरुले नै ठूलो प्रदर्शन र आन्दोलन गरेका हुन् । यसैगरी मेक्सिकोमा जारी कोरोना महामारीको भयानक अवस्थाबारे पनि आवश्यक ध्यान नपुर्याइएको डब्लूएचओले चेतावनी दिएको छ ।