भोलीदेखि बिहान ९ः१५ बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न पाइने

काठमाडौं . काठमाडौं उपत्यका बिहान सवा ९ बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न पाइने भएको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको हो ।

किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनले भने, ‘औषधी पसलको हकमा भने कुनै रोकतोक छैन ।’

बिहान ७ बजे नै प्रहरीले पसल बन्द गराउन लगाएको भन्ने गुनासो आएपछि उपत्यकाको तीन सिडिओको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारमध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ ।

गत मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।