धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

जनकपुरधाम । धनुषामा मत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनकपुरधाम उप महानगरपालिका–२० रुपैठाका ५८ बर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

उनका अनुसार गत भदौ ३ गते ती पुरुषको स्वाब संकलन गरिएको थियो । तर ४ गते नै मृत्यु भएको र ६ गते उनको रिपोर्ट पोजेटिभ आएको हो । यद्यपी ती पुरुषको कुन ठाउँमा कसरी मृत्यु भयो भन्ने सन्दर्भमा आफू समक्ष जानकारी आउन नसकेको झाले बताए । ‘यस सम्बन्धमा थप बुझ्ने काम भइरहेको छ’ उनले भने ।

यो पुरुषको मृत्युबारे आफू समक्ष कुनै जानकारी नआएको जिल्ला स्वास्थ्य कार्यालय, धनुषाका प्रमुख इन्द्र यादवले बताए । उनले यसबारेमा तोकिएका कोरोना फोकल पर्सन अशोक कर्णलाई जानकारी हुने बताए । तर कर्णले पनि आफूलाई यो बिषयमा जानकारी नभएको प्रतिकृया दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि मृतक पुरुषको बिषयमा आफूलाई जानकारी नभएको बताएका छन् ।