पहिरोले तीन घर बगाउदा २५ परिवार विस्थापित

सल्यान । सल्यानको वागचौर नगरपालिका­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन् ।

ओखरेनी गाउँमा पहिराको उच्च जोखिममा परेपछि स्थानीयवासी विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् ।  ओखरेनी गाउँमा तीन घर पहिराले बगाएको र गाउँभरिमा सयौं स्थानमा पहिरो गएकाले स्थानीयवासी घर छाडेर विद्यालयमा बसेका हुन् । यही भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ ।

अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घर भासिएको तथा घर वरिपरि पहिरो गएर पुरिने अवस्था भएकाले गाउँले विद्यालयमा बसेको स्थानीयवासी वीरसिंह डाँगीले जानकारी दिए ।  ‘यस ठाउँमा सय वर्ष पहिले यस्तै खालको पहिरो गएको हो भन्ने सुनेका थियौँ, आज आफ्नै आँखाले यस्तो विजोग देख्नुपर्‍यो’, उनले भने ।

पहिराले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको उनीहरुको गुनासो छ । ‘विस्थापित भएर आएकाहरुसँग न त खाने कुरा छ, न लत्ताकपडा नै ल्याउन पाएका छन् । यस्तो अवस्थामा हामी कसरी बस्नू, अहिलेसम्म कतैबाट केही राहत पाएका छैनौं’, स्थानीयवासी पदम खत्रीले भने ।

वाफुखोलाको ओखरेनीमा पहिरोले ठूलो क्षति भएकाले तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका­१२ का वडाध्यक्ष दीपककुमार वलीले बताए । ‘अहिले वडा कार्यालयमार्फत मुचुल्का तयार गर्ने काम भइरहेको छ र राहतका लागि पहल गरिनेछ’, उनले भने ।