पाचौँ चरणको उद्धार उडान शुरू हुँदै

काठमाडौं । कोरोना महामारी लगायत विभिन्न कारणले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको स्वदेश फिर्तीका लागि आजदेखि पाचौँ चरणको उद्धार उडान शुरू हुने भएको छ ।

यसअघि क्वरेण्टीनको व्यवस्था हुन नसकेको भन्दै रोकिएको चार्टर्ड उडान फेरि सञ्चालन गर्ने निर्णय भएसँगै आजदेखि उडान हुन लागेको हो । विदेशबाट फर्कनेको साथमा कोरोना नभएको रिपोर्ट भएमा होटल क्वारेन्टिनमा बस्न नपर्ने निर्णयसमेत गरिसकेको छ ।

मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । यसअनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले यूएईबाट नेपाली ल्याउने छ ।

बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट नेपाली ल्याउन चार्टर्ड उडान भर्नेछ । नेपाली कम्पनीको उडान तालिका भने बिहीबार मात्र छ । बिहीबार नेपाल एअरलाइन्सले रियाद र हिमालय एअरलाइन्सले दमामबाट नेपाली ल्याउनका लागि उडान भर्नेछन् ।

त्यसै दिन यूरोप र अमेरिकाबाट पनि यात्रु लिएर टर्किस एअर आउने छ । फर्कने सबैको पीसीआर रिपोर्ट हुनुपर्छ । पीसीआर नभएका यात्रु ल्याएमा उनीहरुलाई क्वरेण्टीनमा राखेको खर्च एअरलाइन्सले नै बेहोर्नुपर्छ ।

टर्किस र कतार एअरले एक उडानमा मात्र १ सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले जनाएको छ । सरकारले दैनिक पाँच सय जनाको मात्र उद्धार गर्ने जनाएको छ ।  सङ्क्रमण जोखिम कम भएका र पीसीआर परीक्षण सहज भएका देशबाट भदौं १६ गतेदेखि नियमति उडान हुनेछ ।