देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । उत्तरी बंगालको खाडीमा रहेको न्यून चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट आएको जलवाष्फ युक्त हावाको प्रभावका कारण हाल नेपालमा वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको विभागले देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।