नेपालमा कोरोना भाइरस संक्रमणको स्थिति भयावह बन्न सक्छ : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित कार्यालयका प्रतिनिधि डा.जोस भ्यानडिलिएरले नेपालमा कोरोना भाइरस संक्रमणको स्थिति भयावह बन्ने संकेत गरको छन् ।

उनले नेपालमा हाल देखिएको कोरोना संक्रमणको संख्या सुरुवातमात्रै भएको सचेतना नअपनाए भविष्यमा संक्रमितको संख्या अझ धेरै बढ्ने बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित पत्रकार सम्मेलनमा भ्यानडिलिएरले विश्वमा हेर्दा समग्र जनसंख्याको एकदेखि दुई प्रतिशतसम्म संक्रमित भएको पाइएकाले नेपालमा पनि आगामी दिनमा संक्रमित संख्या बढ्दै जाने परिस्थिति देखिएको बताए ।

उनले भने, ‘नेपालमा कोरोना संक्रमणको संख्या यो सुरुवातमात्रै हो, उच्च सावधानी नअपनाए अझै आगामी हप्ता, महिनामा निकै नै केस बढ्नेछन्। परिस्थिति अझ नराम्रो हुनेवाला छ।’

उनले विश्व स्वास्थ्य संगठनले कोभिडविरुद्ध लड्न नेपाल सरकारलाई पूर्व तयारी, निगरानी, तथ्यांक संकलन, प्रयोगशालाको क्षमता र गुणस्तर सुनिश्चितता लगायतका विषयमा सहयोग गरिरहेको जानकारी दिए।