कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

वीरगञ्ज । कोरोना भाइरस संक्रमणका कारण मंगलबार बाराका २ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुवर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय र महागढीमाई नगरपालिका ४ दहियारटोल बस्ने ५९ वर्षीय पुरुषको मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा.उदय नारायण सिंहले जानकारी दिए ।

भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएका ७२ वर्षीय वृद्ध घरमै आइसोलेसनमा थिए । स्वास्थ्यमा समस्या आएपछि भदौ ८ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि ल्याइएकोमा भदौ ९ गते मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो ।

त्यस्तै भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका महागढीमाइई नगरपालिकाका ५९ वर्षका पुरुष भदौ ५ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए ।  दुवै तर्फ फोक्सोमा कडा खालको निमोनिया देखिएका उनलाई आईसीयूमा राखेर उपचारको क्रममा मंगलबार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ‘स्वास्थ्य स्थिति गम्भीर भएपछि प्लाज्मा थेरापीका लागि तयारी हुँदै थियो’ संयोजक डा। सिंहले भने, ‘तर आजै बिहान एक्सपायर हुनुभयो ।’