उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासन स्रोतले जानकारी दिएको हो ।

मंगलबार दिउँसो बसेको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् । जिल्ला प्रशासन काठमाडौंका एक अधिकारीका अनुसार गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् ।

यसअघि साउन ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो। उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदैछ।

निषेधाज्ञा जारी भएपछि अत्यावश्यकबाहेकका गतिविधि रोकिएका छन्। सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० बमोजिम आदेश जारी गरिएको हो।

यस अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ। अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ।