‘नेपाल आइडल’सिजन–३ को फाइनल शुक्रबार,कस्ले जित्ला त उपाधि ?

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–३ को फाइनल शुक्रबार हुने भएको छ । कोरोनाका कारण यो पटक फाइनल पनि ‘नेपाल आइडल’को स्टुडियोमै हुने छ ।

“कोरोनाको जोखिमका कारण दूरी कायम गर्नु पर्ने भएकाले यसपटक फाइनलमा बाहिराका मान्छे कोही पनि उपस्थित गराउन सक्ने अवस्था रहेन,” नेपाल आइडलका निर्देशक सुरेश पौडेल भन्छन्, “स्पोन्सर पनि उपस्थित हुँदैनन् । प्रतिस्पर्धी, निर्णायक र म्युजिसियन मात्रै हुनेछन् ।”

शुक्रबार साँझ ८ बजेबाट फाइनल सुरू हुनेछ । सोही दिनको साँझ ५ बजेसम्म फाइनलमा पुगेका तीनजनालाई भोट गर्न सकिने समयसीमा निर्धारण गरिएको छ ।

फाइनलमा प्रवीण बेडुवाल, सज्जा चौलागाईं र किरण कुमार भुजेल पुगेका छन् । किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत ‘नेपाल आइडल’मा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । यी तीन मध्ये सबैभन्दा धेरै भोट ल्याउने व्यक्ति नै नेपाल आइडलको विजेता हुनेछन् ।

नेपाल आइडल सिजन–३ का विजेताले नगद ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । फस्र्ट रनरअपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।