कोरोना अस्पताल बनाउन ५ लाख भन्दा बढि रकम सहयोग

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना विशेष अस्पताल निर्माणका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघले रु.५ लाख ५१ हजार सहयोग गरेको छ ।

निजी क्षेत्रका उद्योगी व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व बहन गर्दै आर्थिक सहयोग गरेको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए ।

संघका अध्यक्ष मन्सुरीले कोरोना विशेष अस्पताल निर्माण समितिका संयोजक डा। श्यामसुन्दर यादवलाई आज उक्त रकम वरावरको चेक हस्तान्तरण गरेका हुन् । कोभिड संकट समाधानका लागि बाँकेका निजीक्षेत्र सक्रियतापूर्वक लागेको स्मरण गर्दै अध्यक्ष मन्सुरीले आगामी दिनमा पनि अभियान जारी रहने उल्लेख गरे ।

अध्यक्ष मन्सुरीले आर्थिक सहयोगका लागि अगाडि सरेका नेपालगञ्जका उद्योगी, व्यवसायीलाई संघका तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभएको छ । अस्पताल निर्माणका लागि उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेकोमा कोभिड विशेष अस्पताल निर्माण समितिका संयोजक डा। यादवले आभार प्रकट गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले कोरोना सङ्कट समाधानमा निजीक्षेत्रले महत्वपूर्ण भूमिका निभाउदै आएको बताए । उनले स्वास्थ्य मापदण्ड पालना सन्तोषजनक भएको तर त्यसैमा हौसिने अवस्था नरहेकोले सचेत रहन आग्रह समेत गरे ।

नेपालगञ्ज उद्योग वाणिज्य संघले कोभिड विशेष अस्पताल निर्माणसँगै यसअघि पनि विभिन्न क्षेत्रमा आर्थिक एवं स्वास्थ्य सामग्रीको सहयोग गरेको महासचिव चिरञ्जीवी वलीले जानकारी दिए । भेरी अस्पतालका अध्यक्ष प्रमोद धितालले कोभिड अस्पताल निर्माणको अभियान शुरु भएको छोटो समयमै निजी क्षेत्र र सरकारी कर्मचारीको तर्फबाट भएको आर्थिक सहयोग उत्साहजनक रहेको बताए ।