विप्लव समूहका मध्यपश्चिम इन्चार्ज चन्द पुनः पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्व समूहका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारेखमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन ।

हातहतियार तथा साङ्गठानिक अपराधलगायत चार मुद्दामा पक्राउ परेका चन्दलाई जिल्ला अदालत भोजपुरले रु ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरे पनि धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको थियो ।

सर्वोच्च अदालतमा गैरकानुनी रुपमा कारागार चलान भएको भनी बन्दिप्रत्यक्षीकरणको रिट निवेदन परेपछि न्यायाधीश दीपक कार्की र प्रकाशमान सिंह राउतको आदेशमा बिनाधरौटी आज रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

भोजपुरबाट रिहा हुनेबितिकै चन्दविरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा साङ्गठनिक अपराधसम्बन्धी नै मुद्दा रहेकाले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चन्दलाई गत साउन १५ गते काभ्रेपलाञ्चोकबाट नियन्त्रणमा लिएर भोजपुर ल्याइएको थियो ।