कोरोना संक्रमित ८३ वर्षे वृद्धको मृत्यु

झापा । झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिकाका–३, केर्खा बजारका ८३ वर्षीय वृद्धको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उनको आज बिहान ४ बजे मृत्यु भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् ।

समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि ती वृद्ध पनि संक्रमणमा परेका हुन् । उनको परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएको र उनलाई मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ ।
केर्खा बजार वरपर अहिलेसम्म पाँच जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमण देखिएका क्षेत्र वरपरका बासिन्दाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।