अपहरणमा परेका ७२ घण्टापछि उद्धार, ३ जना पक्राउ

पोखरा । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा कास्की प्रहरीले वडा सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका(२३ का वडा सदस्य भरतराज भण्डारीसहित कास्की प्रहरीले निलगिरी नेशनल जोइन्ट भेन्चरका सञ्चालक वसन्त लामा र लामाको कम्पनीको निर्माणकार्यमा सुपरभाइजर रहेका टिकाराम भण्डारीलाई पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध अपहरणको मुद्दा परेको छ ।

उनीहरुले पोखरा २३ कै स्थानीय माधव सापकोटालाई सोही ठाउँमा रहेको खहरेखोलाको निर्माणाधीन पुलबाट कुटपिट गरी नियन्त्रण लिएर अपहरण गरेका थिए । सापकोटा चालक समेत हुन् । खहरेखोलाको पुल लामाकै कम्पनीले निर्माण गरिरहेको छ ।

प्रारम्भिक बयान अनुसार ठेकेदार लामा र उनको श्रीमतीको सम्बन्धको खटपट नै अपहरणसम्म पुगेको प्रहरीले जनाएको छ । “ठेकेदार लामा र उनकी श्रीमतीबिच झगडा हुने गरेको थियो । झगडाकै कारण उनकी श्रीमती घर छाडेर हिँडिन । घर छाडेर हिँडेपछि उनकी श्रीमतीलाई माधव सापकोटाले घर लिएर गए । सोही विषयमा शंका गरेको हो कि रु,” प्रारम्भिक बयानमा लामालाई उद्धृत गर्दै कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

लामा काठमाडौंका हुन् । गुण्डागर्दीमा उत्रिने स्वभावका लामाले स्थानीय जनप्रतिनिधीसँग पनि राम्रै उठबसको सम्बन्ध छ । ड्राइभरले श्रीमती लिएर गएपछि उनले जनप्रतिनिधी भरतराज भण्डारी र पुल निर्माणको कार्य हेर्ने सुपरभाइजर टिकाराम भण्डारीसँगै भएर सापकोटालाई पुलमा बोलाए । सापकोटा आएपछि उनको मोबाइल खोसे । कुटपिट गरे र बा १४ च ८२७९ नम्बरको कारमा राखेर लामाले आफ्नै फ्ल्याटमा लगी थुनेर राखे । भदौ ८ गते दिनको साढे २ बजेको घटना कास्की प्रहरीले बिहिबार थाहा पायो । र, सापकोटालाई यथास्थानबाटै उद्धार गर्‍यो ।

प्रवक्ता हमालका अनुसार वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले सापकोटालाई ७२ घण्टापछि उद्धार गरेको हो ।  तीनजनासहित बा १४ च ८२७९ नम्बरको सेतो रंगको क्रेटा गाडीसमेत बरामद गरेको छ । उनीहरुमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर र संगठित अपराध मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।