चितवनमा दोस्रोपटक एक साता निषेधाज्ञा थप

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले दोस्रोपटक एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणको निषेधाज्ञाको शुक्रबार अन्तिम दिन भएसँगै भदौ १९ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । चितवनमा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।

उनका अनुसार अत्यावश्यक सेवा अन्तर्गत देखिएको बैंक तथा वित्तिय संस्थालाई भने केही खुकुलो बनाइने भएको छ । व्यवसायीहरु र अन्य नागरिकबाट गुनासो आएकाले बैंक तथा वित्तिय संस्था, केही खुकुलो बनाउने निर्णय भएको शर्माले बताए । साथै उद्योगधन्दा भित्र निश्चित स्थानमा क्वारेन्टाइनको व्यवस्था गरी आवाजजावत गर्न सकिने र कृषिजन्य ढुवानी, खानेपानी, बिजुली, इन्टेरनेट लगायतका सवारीसाधनलाई खुकुलो बनाइने निर्णय गरिएको छ ।

चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागु हुने गरी भरतपुर महानगरपालिकामा निशेधाज्ञा जारी गरेको थियो । त्यसपछि साउन ३२ रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिकाबाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । यसअघि प्रशासनले भदौ ६ गतेदेखि शुक्रबार रातिसम्म लागु हुनेगरी जिल्लाभरी नै निषेधाज्ञा जारी गरेको थियो ।