संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् । आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा। रामप्रसाद सापकोटाले जानकारी दिए ।

आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए । डा.सापकोटाले कोरोना सङ्क्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको जानकारी दिए ।  भरतपुर अस्पतालले गर्भवतीको प्रसूतिका लागि कोभिड र ननकोभिड छुट्टाएर राखेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए। भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक भएको उनले जानकारी दिए ।