अमेरिकामा ६० लाख ९६ हजारभन्दा बढी संक्रमित

काठमाडौं । अमेरिकामा ६० लाख ९६ हजारभन्दा बढी संक्रमित छन्।

अमेरिकामा अहिले पनि करीब २५ लाख ३७ हजार सक्रिय संक्रमित छन्। निको हुनेको संख्या ३३ लाख ७२ हजार पुगेको छ। गएको २४ घन्टामा मात्र अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट एक हजार ९३ जनाको मृत्यु भएको छ। त्यसैगरी भारतमा एक हजार १९ र ब्राजिलमा ८६८ जनाको मृत्यु भएको छ।

कुल मृतक संख्याको सूचीमा भारत मेक्सिकोभन्दा अगाडि पुगेको छ। अब विश्वमा तेस्रो धेरै कुल संक्रमित र कुल मृतक भएको देश भारत भएको छ। यसअघि कुल संक्रमित मेक्सिकोमा भन्दा भारतमा बढी भए पनि मृतकको संख्या मेक्सिकोमा धेरै थियो।

भारतमा अहिलेसम्म ३४ लाख ६१ हजारभन्दा बढी संक्रमित छन्। तीमध्ये करीब २६ लाख ४७ हजार निको भएका छन्। करीब सात लाख ५१ हजार उपचाररत छन् भने ६२ हजार ७१३ जनाको मृत्यु भएको छ।  मेक्सिकोमा भने अहिलेसम्म ६२ हजार ५९४ जनाको मृत्यु भएको छ। त्यहाँ कुल संक्रमित पाँच लाख ७९ हजार ९१४ छन्। विश्वमै बढी मृत्यु हुने देशको सूचीमा चौथो नम्बरमा रहेको मेक्सिको बढी संक्रमित हुने सूचीमा भने आठौँ नम्बरमा छ।