पर्सामा थप तीन कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । पर्साको वीरगञ्जमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षकी एक बृद्धा, वीरगञ्ज –१२ का वर्ष ४३ का एक पुरुष र वीरगञ्ज –२२ मनियारीका ३७ वर्षका पुरुष छन् ।

नारायणी अस्पताल प्रशासनका अनुसार मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति पौने १२ थप उपचारका लागि काठमाडौं रिफर गरिएकोमा उनको शनिबार बिहान मुग्लिङनजिकै मृत्यु भएको छ ।

यस्तै वीरगञ्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको छ । उनी हेपाटाइटीस बी र एचआईभी एड्सका पनि बिरामी थिए ।  वीरगञ्ज १२ मुर्ली निवासी ६५ वर्षीया महिलाको पनि शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा।‍अतुलेश चौरसियाले जानकारी दिएका छन् । थप तीन जनाको मृत्यु भएसँगै पर्सामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।