तीन सयभन्दा बढी प्रदर्शनकारी पक्राउ

काठमाडौँ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लगाइएको प्रतिबन्धका बाबजुदमा जर्मनीमा सयौँ मानिस सडकमा उत्रिएका छन् ।

कोरोना रोकथामका नाममा सरकारले अव्यवहारिक प्रतिबन्ध कायमै गरेको भन्दै जर्मनीको राजधानी बर्लिनमा दुई समूहले आयोजना गरेको प्रदर्शनमा ६८ हजारभन्दा बढी मानिस सहभागी भएको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीहरुले सरकारले लगाएको प्रतिबन्धहरु खारेज हुनुपर्ने माग गरेका छन् । कोरोना महामारी बढिरहेका बेला प्रदर्शन भएपछि प्रहरीले त्यसलाई रोक्ने प्रयत्न गरेको थियो । सो क्रममा झडपसमेत भएको छ ।  झडपमा प्रहरीले ३ सयभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । जर्मन अखबार डाएचे वेलेका अनुसार विरोध प्रदर्शनमा भएका झडपमा केही प्रहरी घाइते पनि भएका छन् ।

सुरूवाती चरणमा कोरोना भाइरसको नियन्त्रणका लागि लगाइएको लकडाउन केही खुकुलो बनाइएलगत्तै संक्रमण फैलिन थालेपछि जर्मनीमा फेरि कडाइ गरिएपछि सर्वसाधारण सडकमा उत्रिएका हुन् । युरोपमा कोरोना भाइरसको संक्रमणले प्रभावित देशहरूको सूचिमा छैठौँ स्थानमा रहेको जर्मनीमा आइतबार यो समाचार तयार पार्दासम्म २ लाख ४२ हजार ८२४ जना संक्रमित भएका छन् । अहिलेसम्त त्यहाँ ९ हजार ३६३ जनाको मृत्यु भइसकेको छ ।