केन्द्रीय कारागारका ३५ कैदीबन्दीमा भेटियो कोरोना संक्रमण

काठमाडौं । केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ । स्रोतका अनुसार कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १७५ जना कैदीबन्दीको स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो ।

कारागारको तीन वटै ब्लकमा रहेको कैदीबन्दीमा संक्रमण देखिएपछि जोखिम थप बढेको छ । यसअघिका संक्रमितलाई कीर्तिपुरको आइसोलेसेन सेन्टरमा पठाइएको थियो । आइतबार थपिएका मध्ये लक्षण भएकालाई अस्पताल र नभएकालाई आइसोलेसनमा पठाउने तयारी गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि आइतबार भएको भर्चुअल राज्य व्यवस्था समितिको बैठकमा कारागारमा संक्रमण बढ्दै गएको बताएका थिए । कैदीबन्दीको उपचार र एकठाउँबाट अर्कोतिर लैजाँदा संक्रमण सल्किएको उनको भनाइ थियो ।

कारागार व्यवस्थापन विभागका एक अधिकारीले पनि कारागारमा उपचार सम्भव नहुने रोगको उपचारका लागि गंगालाल, ट्रमा, त्रिवि शिक्षण अस्पताल लगायतमा लैजाने गरेको उल्लेख गर्दै त्यहीँबाट संक्रमण फैलएको हुनसक्ने बताए ।