पहिरो जाँदा चार जनाको मृत्यु

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा चार जनाकोे मृत्यु भएको छ ।

आज बिहान ७ः०० बजे पहिरो जाँदा तीन घर पहिरामा पुरिँदा तीन जना बेपत्ता भएका छन् । स्थानीयवासी पर्याक शाहीको घर पहिराले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए ।

पहिरामा ४० वर्षीय पर्याक शाही, उनकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई वर्षीय छोरा अक्कल शाहीको मृत्यु भएको हो । उनीहरूको शव अपराह्न ३ः०० बजे भेटिएको प्रहरी नायब निरीक्षक ओलियाले बताए ।

पहिरामा परेका मृतक शाहीकी श्रीमती पुण्या शाही र अर्का एक जना अर्जुन हमालको उद्धार गरिएको छ । उद्धार गरिएकाको उपचार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । बेपत्ता तीन जनाको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ ।