चितवनमा १० महिने शिशुसहित थप ६७ जनामा कोरोना संक्रमण

चितवन । चितवनमा १० महिने शिशुसहित एकैदिन ६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

आइतबार राति सार्वजनिक विवरण अनुसार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा २१ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३५ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप ११ जना गरी ६७ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो । चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एकरएक जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका संक्रमित १८ जनामध्ये राप्ती नगरपालिकाका १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन् । यस्तै गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल, क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो ।

यस्तै, धुलिखेल अस्पताल पठाईएका ४६७ नमुनामध्ये ६१ जनामा कोरोना पोजेटिभ देखिएको छ। यीमध्ये २६ वटा अघिल्लो दिन र ३५ वटामा आइतबार पोजेटिभ पुष्टि भएको हो । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालमा गरिएको २०१ वटाको नमूना परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको कोभिड ईन्फो चितवनले जानकारी दिएको छ ।