काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी

अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिने

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् ।

उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ । तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको मोडलिटीबारे मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा छलफल भएको छ ।

‘केही सम्भावनाबारे छलफल भएको छ, निष्कर्ष आइसकेको छैन’, ललितपुरका सीडीओ भट्टले भने । अर्का एक प्रमुख जिल्ला अधिकारीले भने मोडालिटी तय गरेर गृह मन्त्रालयमा पेश गर्ने निर्णय भएको बताए । हालसम्म भएको छलफलअनुसार आगामी साताको निषेधाज्ञामा होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिनेछ ।

‘निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई पनि सहजीकरण गर्ने भन्ने छ’, एक अधिकारीले बताए । तर, यसबारे अन्तिम निर्णय भने बुधबार गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेसँग हुने छलफलपछि नै हुनेछ । ‘हामी एकखाले निर्णयमा पुगिसकेका छौं, भोलि यसबारे गृहमा छलफल गरेर निर्णय हुन्छ’, काठमाडौंका सीडीओ दाहाल भन्छन् ।