आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु

काठमाडौं । पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ ।

मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने छ । सो जहाज बुधबार काठमाडौं फर्कने छ । बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ ।

कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट सबै हवाई उडानहरु बन्द गरेको थियो । त्यसयता विदेशमा अड्किएका नेपाली र नेपालमा अड्किएका विदेशीहरु ओसार्न चार्टर्ड उडानहरु भए पनि नियमित व्यवसायिक उडान हुन सकेको थिएन । अहिले विभिन्न सुरक्षा मापदण्ड अपनाएर सिमित संख्यामा सरकारले उडान सुचारु गर्न लागेको हो ।

विदेशबाट आउने यात्रुको विमानस्थलमा रिसिभ गर्ने प्रक्रिया १० चैतभन्दा अगाडीको जस्तै सामान्य भने हुने छैन । यात्रुले चार्टर्ड उडानमा जस्तै स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्नुपर्छ । यसको व्यवस्थापन नेपाली सेनाबाटै हुनेछ । त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्ण भन्छन्, ‘आज जसरी सेनाबाट यात्रुको व्यवस्थापन भइरहेको छ, भोलि पनि त्यस्तै हुन्छ ।’

अहिले जहाजबाट झरिसकेपछि नेपाल एयरलाइन्सको र्‍याम्पबसले यात्रुलाई प्रस्थान टर्मिनलसम्म ल्याउने र त्यहाँबाट सेनाले होल्डिङ सेन्टर लैजाने गरेको छ । होल्डिङ सेन्टरबाट पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुलाई फाराम भराएर घर पठाइन्छ भने रिपोर्ट नभएका यात्रुलाई क्वारेन्टिनमा पठाइन्छ । अब भने एउटै जहाजमा पीसीआर नेगेटिभ भएका र परीक्षण नगरेका यात्रुलाई ल्याउन पाइने छैन । यसरी ल्याएमा सबै जिम्मेवारी सम्बन्धित वायुसेवा कम्पनीको हुनेछ । अर्थात् सबै यात्रु अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ र त्यसको खर्च वायुसेवा कम्पनीले बेहोर्नु पर्नेछ ।

नियमित उडानका बीचमा पनि पीसीआर परीक्षण नहुने मुलुकमा भने सरकारले चार्टर्ड उडान गर्दैछ । सेप्टेम्बर महिनाभर यस्तो उडान जारी रहनेछ । पीसीआर रिर्पोट नभएका यात्रु भने सबै अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । यसबाहेक विदेशबाट गैरआवासीय नेपालीलाई एकाघरमा कुनै मानिस गम्भीर बिरामी भएको वा मृत्यु भएको अवस्थामा आउन दिने नीति सरकारले लिएको छ ।

नेपालमा अध्ययनरत विदेशी विद्यार्थी र विदेश विकास साझेदारका प्रतिनिधि कर्मचारीलाई समेत अब नेपाल आउने बाटो खुलेको छ । संयुक्त राष्ट्रसंघ र यस मातहतका निकाय तथा कुटनीतिक नियोगका कर्मचारी, प्रतिनिधि र उनीहरुको परिवारका सदस्यलाई पनि नेपाल आउने अनुमति प्राप्त भएको छ । उनीहरुले भने सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट भिसा र अनुमति भने लिनुपर्नेछ ।