दाङमा घरबाहिर निस्किनेलाई कारबाही

दाङ । दाङमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै जान थालेपछि एक हप्ताको लागि घोषणा गरिएको लकडाउनको मंगलबार दोस्रो दिन लकडाउनलाई कडाइ गरिएको छ ।

लकडाउनको उल्लंघन गरेर बाहिर निस्कनेहरुलाई प्रहरीले होल्डमा राख्‍ने गरेको छ । बजारमा जथाभावी हिँड्ने सर्वसाधरणलाई समेत केही सयम होल्ड गरी नाम र ठेगाना लेखेर छोड्ने गरिएको छ । स्थानय प्रशासनले गरेको यो दोस्रो लकडाउन हो । जिल्लामा सामुदायिकस्तरमै कोरोना भेटिएपछि झन कडा रुपमा लकडाउन गरिएको हो ।

मंगलबार मात्रै दाङमा १३ जना कोरोना संक्रमित थपिएका छन् । घोराहीको दामोदर चोकमा होल्डिङ जोन नै बनाएर जथाभावी हिँड्ने सर्वसाधारणलाई होल्डिङ जोनभित्र राखी कोरोनासम्बन्धी अनावश्यक कुरा सिकाइ छोडिदिने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको सामुन्नेमा पनि लकडाउन उल्लङ्घन गर्नेलाई होल्डमा राखिएको छ ।

यस्तै दाङमा आइतबार रातिदेखि जारी भएको लकडाउनको समयमा अटेरी गरेर सञ्‍चालनमा आएका ९७ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार मात्र लकडाउनको अवज्ञा गर्दै गुडिरहेका ९७ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । लकडाउनको अवज्ञा गर्नेमा ट्रक, टिप्पर र मोटरसाइकल बढी छन् । जस अनुसार सोमबार कारबाही पर्नेमा सबैभन्दा धेरै ट्रक र टिप्पर गरी ७१ वटा कारबाहीमा परेका छन् भने २२ वटा मोटरसाइलक कारबाहीमा परेका छन् ।