वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको मृत्यु भएको हो ।

मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो । उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । 

‘मुटु रोग, दम र उच्च रक्तचापको समस्या पहिलेदेखि नै रहेछ । उमेर पनि ढल्किसकेको अवस्था थियो । यस्तोमा कोरोना संक्रमण देखियो,’ उनले भने, ‘हामीले सकेको प्रयास गर्‍यौं तर बचाउन सकिएन ।’ भदौ १२ गते स्वाब संकलन गरेको दुई दिनपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।