एक पुरुषको घाँटी काटेर हत्या

झापा । शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको छ । 

घाँटी काटिएको अवस्थामा स्थानीय २८ वर्षीय गोमान मगरको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।

‘प्रारम्भिक जाँचमा घाँटी काटिएको पाइएको छ, अन्य चोटपटकबारे पोष्टमार्टमपछि नै थाहा होला’, कोइरालाले भने । प्रहरीका अनुसार मगर वैदेशिक रोजगकारीका लागि बहराइन गएर केही महिनाअघि फर्किएका थिए ।

स्रोतका अनुसार मगर एक जना साथीले बोलाएपछि मंगलबार साँझ साढे ६ बजे घरबाट निस्किएका थिए । प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल पनि बरामद गरेको छ । त्यसैले दुवै जना मोटरसाइकलमा त्यहाँसम्म पुगेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

अहिले अनुसन्धानका लागि प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट ट्याकर डग घटनास्थलमा ल्याएको छ भने अनुसन्धानमा सहयोगका लागि १ नं.प्रदेश प्रहरी कार्यालयबाट पनि एउटा टोली शिवसताक्षीमा छ ।