काठमाडौँ उपत्यकामा निषेधाज्ञा फेरि एक साता थप

पहिले भन्दा केही खुकुलो हुने

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एकसाता थपिएको छ।

बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको परामर्शपछि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

स्वास्थ्य प्रोटोकल पालना गरेर कतिपय सेवाहरु सहज बनाउन मन्त्रालयले सुझाव दिएकाले प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा थपेको गृह मन्त्रालयलका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

‘हामीले जनजीवनलाई पनि क्रमिकरूपमा सहज बनाउँदै निषेध आदेश थप्न सुझाएका हौँ, उहाँहरूको अधिकार क्षेत्र भएकाले के-के खुकुलो वा सहज बनाउने वा नबनाउने भन्ने उहाँहरूले नै गर्नुहुन्छ विस्तृत विवरण प्रजिअहरूबाटै आउँछ,’ लामिछानेले भने ।

जनप्रतिनिधिले थप कडाइ गर्न र उद्योगी व्यवसायीले खुल्ला गरेर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन दबाब दिइरहेका बेला केही खुकुलो गरेर फेरि निषेधाज्ञा बढाइएको हो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि भदौ ३ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो ।