रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

बुटवल । भैरहवाको भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका– ६ सब्जीमण्डीका ५७ बर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलका अनुसार भदौ १५ गतेदेखि आईसीयूमा उपचाररत उनलाई बुधबार दिउँसो ३ बजे हृदयघात भएको र साढे ३ बजे मृत्यु भएको हो । उनी मुटुको रोगी थिए ।

१० वर्षअघि मुटुको शल्यक्रिया गरेका उनले नियमित औषधि सेवन गर्दै आइरहेका डा.पोखरेलले बताए । बुटवलको कोरोना बिशेष अस्पतालमा आईसीयू बेड नभएपछि भीम अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था स्थिर रहेकामा एक्कासी हृदयघात भएको पोखरेलले बताए । अस्पतालमा कोरोना संक्रमित मृतककी श्रीमतीको पनि आईसीयूमै राखेर उपचार भइरहेको छ ।