वीरलाई कोभिड अस्पताल बनाउने तयारी

काठमाडौं । सरकारले वीर अस्पतालमा कोभिड—१९ संक्रमितको मात्र उपचार गर्ने तयारी गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, वीर अस्पतालका निर्देशकसहितको बैठकले वीरलाई कोभिड अस्पताल बनाउने टुंगो लगाएको हो ।

कोभिड—१९ का कारण वीरमा आउने बिरामीको संख्या कम भएको हुँदा त्यहाँ आउने बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरको एउटा तलाबाट सेवा दिने व्यवस्था मिलाउन लागेको अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले बताए । उनले भने, ‘सरकारको निर्देशन अनुसार ननकोभिड बिरामीलाई ट्रमा सेन्टरमा सिफ्ट गर्ने तयारी भइरहेको छ ।’ नेपालकै पुरानो वीर अस्पताल देशभरमा धेरै बिरामीको उपचार गर्ने अस्पतालमा पर्छ । कम खर्चमा सबैजसो रोगको उपचार हुने भएकाले सर्वसाधारणको चाप यहाँ बढी छ । 

पछिल्लो समय कोरोना भाइरस महामारीको समयमा पनि वीर अस्पतालबाट सर्वसाधारण बिरामीले उपचार लिइरहेका थिए । तर केही दिनयता अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण बढेपछि बहिरंग सेवा भने बुधबार र बिहीबार बन्द गरिएको छ । हाल वीर अस्पतालका चिकित्सक, नर्स स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरका अधिकांश कर्मचारी आइसोलेसनमा बसेका छन् ।