चितवनमा आज तीन कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा कोरोना भाइरसको सङ्क्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा एक र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो ।

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलाको मृत्यु भएको हो । विगत तीन महिनादेखि मिर्गौलाको समस्याका कारण डायलोसिस गराइरहेकी उनलाई भदौ १४ गते खोकी र स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालद्वारा जारी सूचनमा उल्लेख छ ।

भदौ १७ गते कोरोना सङ्क्रमण देखिएको उनको कोभिड सघन उपचार कक्षमा आज साँझ ५ः १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि आजै चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा गौँडाकोट नगरपालिका–५ का ३७ वर्षका एक पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक दयाराम लम्सालका अनुसार मिर्गौलामा समस्या देखिएपछि उनी भदौ ५ गते अस्पताल भर्ना भएका थिए ।

उनको भदौ १० गते गरिएको स्वाब परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा आज दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै गएराति भरतपुर महानगरपवालिका–११ का ४० वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएकी उनमा कोरोना सङ्क्रमण देखिएको थियो । उनको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । चितवनका ११, मकवानपुरका चार, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक(एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । हालसम्म चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या ८६२ पुगेको छ ।