मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने निर्णय

ललितपुर । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ ।

ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सहभागी भएका ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनका अनुसार आज क्षमा पूजा गरिने, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत र्हेर्ने र २६ गते मूर्ति बुङ्मतीमा पुर्‍याएर मन्दिरमा विराजमान गराउने कार्यक्रम रहेको छ ।

बैठकमा सङ्घीय सांसद पम्फा भुषाल, प्रदेश राजकाजी महर्जन, कृष्णलाल महर्जन, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनलगायत अन्य पदाधिकारी, गुठी संस्थानका पदाधिकारीको उपस्थिति थियो ।

यसैगरी, बैठकमा रातो मछिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिको समेत सहभागिता थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले छोटो कार्यविधि गरी जात्रा मनाउने कुरा भएको जानकारी दिए ।

ललितपुरमा रहेका १९ जातीय समुदाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि ती युवा सडकमा उत्रिएर रथयात्रा गर्न खोज्ने विषयमा जानकारी नभएको प्रजिअ भट्टको भनाइ छ । उनले जातीय समूह, ३१ जना पुजारीहरू, खलः पुच, ज्यापू महागुठी, राजनीतिक दलहरूले विहीबार भएको घटनालाई लिएर खेद व्यक्त गरेका छन् ।