चितवनमा निर्माण सामग्रीका र फेन्सी पसल खुल्ला गर्न पाउने गरि भदौ ३१ सम्म निषेधाज्ञा

चितवन । चितवनमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मलाई निरन्तरता दिएको छ ।

अब निषेधाज्ञामा विहान १० देखि अपरान्ह ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी र कपडा पसल सञ्चालन गर्न पाइनेछ । औषधि, पानी, ग्यास, दूध, तरकारी, खाद्यान्न पसल, पेट्रोल पम्प आदि जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइनेछ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भिडभाड नहुने गरी कार्यालय पनि सञ्चालन गर्न पाइनेछ । बैंक, वित्तीय संस्था र सहकारीका कार्यालय पनि ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्न पाइनेछ । यसबाहेक अन्य पसल व्यवसाय भने बन्द हुनेछ ।

कृषि उत्पादन तथा कृषि औजार ढुवानीका लागि प्रयोग हुने सवारी साधन, लामो तथा छोटो दूरीका मालसामान ढुवानी गर्ने साधन पनि चल्न पाउनेछन् । यसअघि चितवन जिल्लामा लगाइएको निषेधाज्ञा शुक्रबार राति सकिँदै थियो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले अर्को सूचना जारी गरी निषेधाज्ञालाई निरन्तरता दिएका हुन् ।