कोरोना संक्रमित गर्भवतीले जन्माइन् स्वस्थ बच्चा

 

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा काठमाडौं असनकी २७ वर्षीया कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट छोरालाई जन्म दिएकी छिन् ।

शुक्रबार (आज) दिउँसो ती संक्रमित महिलाले शल्यक्रियामार्फत स्वस्थ बच्चा जन्म दिएको अस्पतालले जनाएको छ । उपचार संलग्‍न अस्पतालकी अस्सिटेन्ट प्रोफेसर डा.जोस्‍ना शर्माले संक्रमित महिलाले शुक्रबार दिउँसो शल्यक्रियाबाट छोरालाई जन्म दिएको बताएकी छन् । कोरोना संक्रमण नसरोस् भनी पूर्वतयारीका साथ एकदमै स्वास्थ्य सुरक्षा अपनाएर शल्यक्रिया गरेको उनको भनाइ छ । कोरोना संक्रमित महिलामा कुनै पनि कोरोनाका लक्षण नदेखिएको उनले बताइन् ।

उनका अनुसार ती महिला ४१ हप्ताकी गर्भवती थिइन् । ४१ हप्ता लाग्दा पनि सुत्केरी व्यथा नलागेर पाठेघरको मुख नखुलेपछि व्यथा लगाएर सुत्केरी गराउने तयारी गरिए पनि उनको पीसीआर परीक्षण गर्नुपर्ने भएकोले स्वाब लिएर महिलालाई घर पठाएको डा। शर्माले बताइन् । भदौ १८ गते (हिजो)राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

उनलाई फेरि शुक्रबार बिहान अस्पताल लगिएको थियो । अस्पतालमा शल्यक्रियामार्फत शुक्रबार दिउँसो ११ बजेतिर उनको बच्चा जन्मिएको डा.शर्माले जानकारी दिइन् ।  १५ दिनदेखि घर बाहिर ननिस्केको बताउने ती महिला आफूलाई कसरी संक्रमण भयो भन्‍ने विषयले चिन्तित हुनुहुन्थ्यो,डा.शर्मा भन्छिन् “उहाँ पहिलो बच्चा भएकाले कोरोनाले आफ्नो बच्चालाइ केही होला कि भनेर पनि चिन्तित देखिनुहुन्थ्यो । हामीले काउन्सिलिङ गरेका हौं ।

अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डा। शर्माले जानकारी दिएकी छन् । उनले भनिन्, “काठमाडौं मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको डेलिभरी गराएको पहिलो केस हो ।” कोभिड गर्भवतीको डेलिभरी गराउँदा पूर्ण सुरक्षा विधि अपनाएको बताउँदै आफूहरुलाई नयाँ अनुभव भएकोसमेत डा.शर्माले बताइन् । संक्रमित महिलाको शिशुलाई कोरोना संक्रमण नसरोस् भनेर आफन्त घर लिएर गएको उनले जानकारी दिइन् ।