रूपन्देहीमा एक साता लकडाउन थप

रूपन्देही । रुपन्देही प्रशासनले जारी गरेको लकडाउन केही खुकुलो बनाउँदै फेरि एक साता थपेको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको सिफारिसबमोजिम जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले भदौ २८ गते १२ बजेसम्मका लागि लकडाउन आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि व्यापार–व्यवसाय बिहान ११ देखि बेलुका ६ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ ।

यस्तै अत्यावश्यक दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ देखि बेलुका ७ बजेसम्म चल्न पाउनेछन् । सरकारी कार्यालयहरुमा भीडभाड नहुने गरी व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सङ्क्रमण ऐन, २०२० को दफा २ बमोजिम प्रमुख जिल्ला अधिकारी महादेव पन्तद्वारा आज जारी आदेशमा भनिएको छ ।

यस्तै जिल्लाभित्र सञ्चालित सबै प्रकारका बैंक तथा वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्थासहित नियमित सेवा दिनसक्ने प्रजिअ पन्तले जारी गर्नुभएको आदेशमा उल्लेख गरिएको छ । उद्योग व्यवसायअन्तर्गतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड विपरीतका काम गर्न रोक लगाएको छ ।