कोरोनाविरुद्धको खोप सन् २०२१ को मध्यपछि मात्र उपलब्ध हुने : डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप विकास भएपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुने बताएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकहरूले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन् । उनले पत्रकार सम्मेलनमा यो खोप बजारमा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुने बताए ।

त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सक्ने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए ।

उनले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताए । त्यस ट्रायलको परिणाम यसै वर्षको अन्त्यसम्मा या आगामी वर्षको शुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया शुरु हुने जानकारी पनि उनले बताए ।