‘सुश्री सम्पत्ति’को छायांकन सुरु

काठमाडौं– ‘सुश्री सम्पत्ति’को छायांकन सुरु भएको छ । चलचित्रमा नायक सलोन बस्नेत र नायिका सारा सिपाली छिन् । मगंलबार पोखराको विन्ध्यवासिनी मन्दिरमा एक कार्यक्रमका बीच फिल्मको शुभमुहूर्त गरिएको हो ।

सञ्चारकर्मी तथा निर्देशक सुब्रत आचार्यले निर्देशन गरेका छन् । कमेडी जनरामा निर्माण हुने फिल्मको सम्पूर्ण छायांकन पोखरामा हुने निर्देशक आचार्यले बताए । फिल्ममा समावेश एउटा गीत भने काठमाडौंमा खिचिने छ । ‘रुद्र गर्ल’ सारासँग सलोनले फिल्ममा रोमान्स गर्नेछन् ।वर्ष ०७५ को तीजको छेकोमा प्रदर्शन हुने ‘सुश्री सम्पत्ति’ मा नायिका प्रियंका कार्की गेस्ट रोलमा देखिँदै छन् । विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायत कलाकारहरूको पनि फिल्ममा अभिनय रहने छ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुब्रत आफैँले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिन प्ले अभिमन्यूकै हो ।सुरेश अधिकारीको सोलो शब्द र संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहने छ । सुख सुविधामा हुर्किएकी एक युवतीको कथा फिल्मले बोल्ने बताइएको छ ।