काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा खुकुलो हुने

सवारीसाधनमा जोर बिजोर लागु

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

यससँगै उपत्यकामा सवारीसाधन सञ्‍चालनमा जोर–बिजोर लागु हुने जनाइएको छ । यससँगै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिनेसमेत जनाइएको छ ।

उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको मयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ । भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् । व्यापार व्यवसाय खोल्न दिने शर्तबारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने एक अधिकारीले जानकारी दिए ।