१३ अंकले बढ्यो सेयर बजार,साढे २ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको चौथौ दिने सेयर बजार परिसूचक नेप्से बढेको छ । यो सता लगातार आइतबार र सोमबार दुई दिन घटेको नेप्से मंगलबार र बुधबार बढेको छ ।

बुधबार बजार परिसूचक दोहोरो अंकले वृद्धि हुँदा नेप्से पुनः १५०० अंकभन्दा माथि पुगेको छ । अघिल्ला दुई साता लगातार उच्च अंकले बढेको नेप्से संस्थागत लगानीकर्ताले नाफा बुक गर्दा आइतबार र सोमबार घटेको थियो । तर मंगलबारदेखि नेप्सेको बढ्ने यात्राले पुनः निरन्तरता पाएको देखिन्छ ।

गत साता १५०० अंकभन्दा माथि पुगेको नेप्से आइतबार १५०० बाट तल झरेको थियो । तर बुधबार १३.०५ अंकले वृद्धि भएर १५०८.२१ अंकमा पुगेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्समा पनि सामान्य सुधार भएको छ । वाणिज्य बैंक र विकास बैंक समूहको सूचक नेगेटिभ हुँदा नेप्से १३ अंकले बढे पनि सेन्सिटिभ इन्डेक्स भने ०.१९ अंकले बढेर २९९.६६ अंक कायम भएको छ ।

नेप्से परिसूचकसँगै बुधबार कारोबार रकम पनि बढेको छ । मंगलबार दुई अर्बको पनि कारोबार नभएको बजारमा बुधबार भने साढे २ अर्बभन्दा बढीको कारोबार भएको छ । नेप्सेमा बुधबार १९४ कम्पनीको ५७ लाख ९८ हजार ५३२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड ३४ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

लगातार उच्च कारोबार हुँदै आएको नेपाल पुनर्बिमा कम्पनीले आइतबार पनि कारोबार रकममा बजारको नेतृत्व गरेको छ । कम्पनीको २२ करोड ३१ लाख २२ हजार रुपैयाँको कोरोबार भएको छ । कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीलाई नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासन गर्न आवेदन दिएको नागरिक लगानी कोषले पछ्याएको छ । कम्पनीको १८ करोड ६४ लाख ८ हजारको सेयर कारोबार भएको छ ।

यस्तै शिवम् सिमेन्ट, सुर्या लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्स धेरै कारोबार हुने शीर्ष ५ कम्पनीमा अटाएका छन् । सोमबार नेप्सेमा सूचीकृत भएर हिजो मंगलबारबाट कारोबार सुरु भएको रिलायन्स लाईफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस्तै राष्ट्रिय बिमा कम्पनीको संस्थापक र साधारण दुबै सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य ९.३१ प्रतिशत र नेरुडे लघुवित्तको सेयर मूल्य ८.६९ प्रशितले बढेको छ । यता एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा भने बुधबार लगातार चौथो दिन पनि नेगेटिभ सर्किट लागेको छ ।

१३ अंकले बढेको बजारमा पनि बैंकिङ र विकास बैंक समूहको सूचक भने नेगेटिभ बनेको छ । बैंकिङ समूहको सूचक ०.१६ प्रतिशत विकास बैंक समूहको सूचक ०.३१ प्रतिशतले घटेको छ । यता निर्जीवन बिमा समूहको सूचक ३.५ प्रतिशत, व्यापार समूहको सूचक ३.३९ प्रतिशत, लघुवित्त समूहको सूचक २.२ प्रतिशतले बढेको छ ।