रुसले तीन करोड २० लाखको खोप मेक्सिकोलाई बिक्री गर्ने

मस्को । रुसको सार्वभौम सम्पत्ति कोषले तीन करोड २० लाख डोज सम्भावित कोरोनाविरुद्धको खोप मेक्सिकोलाई बिक्री गर्ने भएको छ ।

रुसले कोभिड–१९ को सम्भावित ‘स्पुतनिक–भी’ खोप मेक्सिकोको एक मुख्य फर्मासिटिकल कम्पनीलाई बिक्री गर्ने सम्झौता भएको स्रोतले रोयटर्सलाई जानकारी दिएको छ । यो रुसको खोप निर्यातको दोस्रो सम्झौता भएकोसमेत बताइएको छ ।

यसअघि रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ)ले पहिलो सम्झौता अगस्तमा काजकस्तानसँग गरेको थियो ।

रुसले यसअघि अगस्त ११ मा विश्वको पहिलो कोरोनाविरुद्धको खोप दर्ता गरेको दाबी गरेको थियो । तर, युरोप अमेरिकालगायतका पश्‍चिमा राष्ट्रहरुले पनि खोप विकासका सबै मापदण्ड पालना गरे–नगरेकोमा आशंका व्यक्त गरेका छन् ।

रुसले भने उक्त खोप आपतकालीन प्रयोगमा ल्याइसकेको दाबी गरेको छ ।